AVENTOZ NEWS DESK
ललितपुर — डी–इभेन्ट्स द्वारा आयोजना गरिएको फेस अफ द नेशन सिजन ४ को ग्राण्ड फिनाले कार्तिक २५ गते (नोभेम्बर ११) मा ललितपुरको म्युजिक सिटी, बालकुमारीमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम आयोजक अमिशा ओलीको संयोजनमा सम्पन्न यस प्रतियोगितामा देशभरका १६ जना प्रतियोगीहरूबीच सौन्दर्य, आत्मविश्वास र प्रतिभाको आकर्षक प्रतिस्पर्धा भएको थियो।
कार्यक्रमको सुरुवात आकर्षक उद्घाटन प्रस्तुतिसँग गरिएको थियो, जहाँ प्रतियोगीहरूले आफ्नो शैली, व्यक्तित्व र संवाद क्षमताको प्रदर्शन गरे। प्रतियोगितामा इण्ट्रोडक्सन, ट्यालेन्ट, सांस्कृतिक र डिजाइनर राउण्ड लगायतका विभिन्न चरणहरू समावेश गरिएका थिए, जसले दर्शकहरूलाई साँझभर रमाइला क्षणहरू प्रदान गर्यो।
कडा प्रतिस्पर्धामध्येबाट राजलक्ष्मी थापा र आमिर जमाल क्रमशः फेस अफ द नेशन सिजन ४ का विजेता बने। रितिशा राजबंशी पहिलो रनरअप घोषित भइन् भने सान्छी जोशी दोस्रो रनरअप बनिन्। यसैगरी सुजिना भट्टराई ब्रान्ड एम्बेसडरको रूपमा चयन भइन् भने आकृति सुन्दास र वेदान्त लामाले आयोजकको रोजाइ पुरस्कार (Organizer’s Choice Award) प्राप्त गरे।
कार्यक्रमको संचालन सबिना चौधरीले आकर्षक ढङ्गले गरेकी थिइन्। निर्णायक मण्डलमा शैलेन्द्र श्रेष्ठ, स्नेहा पन्त, सोनी श्रेष्ठ, सन्नी सिंह राजपूत, र विनोद ढकाल रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको व्यक्तित्व, प्रस्तुति, र आत्मविश्वासका आधारमा मूल्यांकन गरेका थिए।
फेस अफ द नेशन सिजन ४ केवल एक प्रतियोगिता मात्र नभई युवाहरूको सिर्जनात्मकता, शैली र आत्मविश्वासको उत्सवको रूपमा पनि सफल रह्यो। आकर्षक बत्ती, जोशिलो संगीत र फेशन प्रस्तुतीसहित सम्पन्न यस कार्यक्रमले नेपालको मोडलिङ तथा फेशन उद्योगमा नयाँ ऊर्जा भरेको छ।