नेपालका नेता, नीति र नेतृत्व
AVENTOZ NEWS DESK
Oct-04 , 2022 तारिख 05:33 बिहान

 

कुमार दाहाल 

     
     नेता नीतिबाट जन्मिँदैन। नीतिबाट जन्मिएको नेताले नीति बाहिर सोच्न सक्दैन । नेताले नीति बनाउँछ र त्यसको नेतृत्व गर्दछ।त्यसैले नेता र नेतृत्व  फरक छ। नेता भिड, परिस्थितिले जन्माउँछ। नेतृत्व व्यवस्थापकीय गुण हो। नेता र नेतृत्व एउटै भएमा नीति बलियो हुन्छ। नेता हुँदैमा असल नेतृत्व नहुन सक्छ त्यसैले नेता भित्रका योग्यहरुलाई नेतृत्व दिइन्छ र एउटा असल नेतृत्वले नीतिभित्र बसेर थुप्रै नेता जन्माउछ। एउटा राजनीतिक प्रणाली भित्र थुप्रै नेता हुन्छन् तर एउटाले नेतृत्व गर्दछ ।नेतृत्वले भनेका कुरा सबै नेताहरुले मान्छन् र नेतृत्वको अनुहार अगाडि आउँछ। जस र अपजस नेतृत्वले लिन्छ।

     आफूले बनाएको बन्धनबाट आफै अनुशासित हुनु नेता र नेतृत्वको मुख्य कर्तव्य हो।  जुन कुरा नेपालमा खडेरी जस्तै छ । नेतृत्वले जो बोल्छन् त्यो नेताले बोल्दैनन्। नेतृत्व र नेतामा नीतिकाे  एकरूपता देखिँदैन । यहाँ नेताले नीति बनाउँदैनन , नीतिको निर्माणमा नेतृत्वले आफ्नो पहुँच राखेको छैन। नेतृत्व पैसामा बिक्री भएपछि यस्तै हुन्छ ।यहाँ नीति खरिद गर्ने व्यापारी, निजी क्षेत्र थुप्रै छन् ।जसको पहरेदार कर्मचारीतन्त्र समेत भएन। किनकि कर्मचारीतन्त्रको नेतृत्व समेत फितलो छ।  हाम्रोमा  कानुन बाहिर बसेर काम गर्न रमाइलो मान्छन नेताहरु र भन्छन् काम गर्न सकिएन।

   आगामी मंसिर ४ मा हामी संसदीय चुनावमा जादैछौं ।यतिखेर  राजनीतिक दलहरुमा नेतृत्व चयनका कठिनाई  छ। यो कठिनाई किन भयो? किनकि नेपालको राजनीति जनताबीचमा स्थापित हुन सकेन। एउटैले पटक पटक नेतृत्व गर्दा नेतृत्वबाट परिवर्तन देखिएन। राजनीतिक नेतृत्व जनताको आकर्षण बनेनन्। कुनै पनि नेता जनतासँग आफ्नो मजबूत तर्क राख्न सक्दैनन् । त्यसैले अहिले जनता स्वतन्त्र नेतृत्वको खोजीमा छन्। के संसदीय व्यवस्थामा यो चुनौतिपूर्ण होइन ? के यसको जिम्मेवारी अहिलेका राजनीतिक दलका नेतृत्व र नेताले लिनुपर्दैन? तर अझै पनि नेताहरु आफ्नै सोच र आत्मरतिबाट माथि उठ्न सकेका छैनन्।

     अहिले नेपाली नेतृत्वमा मौलिकपन हराउँदै गएको छ। राजनीतिक दलले नेतालाई अनुशासनमा ल्याउन सकेनन। स्वयं राजनीतिक दल अनुशासित भएनन। फुट्नु र जुट्नु उनीहरूको मुख्य काम भयो।  कसले फुटाउँछ कस्ले जुटाउँछ यो राजनीतिक दललाई थाहा छैन।  स्थिर शासन र सुशासनको लागि यो दुर्भाग्यपूर्ण अवस्था हाे।

      ४० लाख युवा देशबाहिर छन्.। यिनीहरुले मंसिर ४ मा चुनावमा भाग लिन पाउँदैनन्। यही वर्ग हो जसले नेपालमा परिवर्तन चाहन्छ । उही पुरानो ढर्रा र सोचबाट मंसिर ४ ले सही नेतृत्व पाउँदैन। शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसायमा स्वार्थ समूहको  पकड छ। यो घेरा तोड्न अहिलेको नेतृत्व सक्षम छैन ।किनकि यो नेतृत्वलाई सरकारी नीतिको खरिद गर्ने समूहले  खरिद गरिसकेको छ ।खरिद भएको नेतृत्वले परिवर्तन ल्याउँदैन। हुनसक्तैन।

      दलभित्रका  राम्रा नेता अब चुनावमा जानै सक्तैनन्।  उनीहरुसँग चुनावमा खर्च गर्ने कराेडाौ रुपिया छैन। खर्च नगरी चुनाव जित्नै सकिँदैन। यो पैसा व्यापारी, दलाल  सँग छ। जसले राजनीतिमा राम्रो पकड राख्छ।  उच्चपदस्थ कर्मचारीतन्त्र ,व्यापारी हरूको पहुँच राजनीतिमा हुनु राम्रो होइन ।अहिले व्यापारिक घराना, कर्मचारीतन्त्रमा राजनीति गर्ने मोह बढेको छ।   यसले राजनीति भित्र अनास्था पैदा गर्दै छ। यस्तो नेतृत्वबाट लोकतन्त्र  उभो लाग्न सक्दैन।

   समानुपातिक नेतृत्व भित्र भूतो न भविष्य भएका नेताहरूको मालामाल अहिले देखिसकेको छ। जुन विषय समानुपातिक नेतृत्वमामा सबभन्दा बढी छ। समानुपातिक नेतृत्वबाट सरकारमा  मन्त्री बन्ने इच्छा बोक्नेहरु अहिले थुप्रै छन्। पैसा कमाई सकेपछि नेता बन्ने सोच राख्नु अनौठो होइन। तर यसले देशको नीतिलाई राम्रो गर्दैन। समानुपातिक नेतृत्त्वमा सबै  वर्ग भित्रको योग्यताको पहुँच हुनुपर्ने हो तर  यसैमा पैसाको खेल छ। समानुपातिकमा नाम राख्न  चन्दा र पैसा  लिएको चर्चा नयाँ होइन। यो चेत अझै पनि नेतृत्वलाई छैन। यही धन्दामा राजनीतिक दलका नेतृत्वहरु रमाएका छन। यो कुरो जनतालाई थाहा छैन र?

   अब पनि निष्पक्ष स्वार्थरहित नेता आएनन् भने हाम्रो शासन व्यवस्था मजबुत हुँदैन।  हाम्रा नीति र नेतृत्व परतन्त्रमा परिसकेका छन्। हाम्रो पकडमा कुनै नीति छैन। शिक्षा स्वास्थ्य नीति, सरकारी स्कूलहरुको व्यवस्थापन फितला बनाइए। सरकारी विश्वविद्यालयहरूमा बिद्यार्थी छैनन्। निजी क्षेत्रको शिक्षा अति महँगो छ। स्वार्थ समूहको घेराभन्दा बाहिर बसेर कसैले काम गर्न सक्दैन। केही नेतृत्वहरु छन् जसको आवाज नीतिको गहिराइसम्म पुग्न सक्तैन।चुनिएका नेताले पनि आफ्नो अडानमा काम गर्ने अवस्था छैन। किनकि धेरै बिग्रिसकेको छ।  आगामी निर्वाचनमा हामीले आफ्नै गाउँ घरबाट विकास गर्ने खालको मौलिक र निर्भीक नेता चुन्ने दिन आएको छ। गुलियोको चास्नीमा फसिसकेकाहरुको अनुहार चुनावका बेला दया लाग्दो र मलिन हुनसक्छ तर त्यसभित्रको कुटिलता आजसम्म हामीले बुझिसकेका छौं।

Related Post